हिमालापारीको जिल्ला मुस्ताङ कोरोना मुक्त, पर्यटक बढ्ने अनुमान

हिमालापारीको जिल्ला मुस्ताङ कोरोना मुक्त, पर्यटक बढ्ने अनुमान

अमृतप्रसाद पौडेल गोरखापत्र 

बेनी, कार्तिक १ गते । हिमालापारीको जिल्ला मुस्ताङ कोभिड–१९ को सक्रिय संक्रमित मुक्त जिल्ला भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार पछिल्लो समय सक्रिय संक्रमित २ जनाले पनि आइतबार कोभिड–१९ जितेसँगै जिल्ला सक्रिय संक्रमित मुक्त भएको हो ।

दशैं तथा तिहारको बिदा मनाउने आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुनुपर्ने मुस्ताङ कोभिड–१९ ले गर्दा कम भएको भएपनि आइतबारदेखि सक्रिय संक्रमित मुक्त भएसँगै अब मुस्ताङमा पर्यटकहरुको संख्या बढ्ने अनुमान गरिएको छ । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीकाअनुसार सक्रिय संक्रमित २ जना आइतबार संक्रमण मुक्त भएपछि जिल्ला सक्रिय संक्रमणमुक्त भएको हो ।

गत बैशाखदेखि यता मुस्ताङमा कोभि–१९ का कारणबाट १५ जना ब्यक्तिको मृत्यु भएको छ । पछिल्लो ६ महिना अवधिमा ५ सय ६१ जना व्यक्तिमा कोभिड– १९ संक्रमण पुष्टि भएको छ । २ सय ५० जनाको पीसीआर परीक्षण गर्दा १ सय १२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ८ सय २२ जनाको एन्टिेजेन परीक्षण गर्दा ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख भण्डारीले बताउनुभयो ।

कोभिड–१९ संक्रमण पुष्टि भएर गम्भिर अवस्थामा पुगेका २८ जना बिरामीलाई थप उपचार गर्न जिल्ला बाहिर पठाइएको थियो । मुस्ताङका पाँचवटै स्थानीय तहमा १८ वर्षमाथि उमेरका नागरिकले कोभिड–१९ बिरुद्धको खोप लगाइसकेका छन् । जिल्लामा लक्षित बर्गले खोप लगाएसंगै मुस्ताङको जनजिवन साविकभन्दा सामान्य बनेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका सबै नागरिकले खोप लगाइसकेको र कोरोना जोखिम कम भएको बताउनुभयो । जोखिम कम भएसँगै जारी निषेधाज्ञालाई सहज र खुकुलो पारिएको पनि उहाँले जानकारी दिनुभयो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै जिल्लाको आर्थिक अवस्था चलायमान तुल्याउन आवश्यक रहेको भन्दै शर्तसहित जिल्ला आउजाउ गर्न पाउने अनुमती प्रदान गरेको छ ।

मुस्ताङमा बसोबास गर्ने नागरिकबाहेक विदेशी नागरिकलाई ७ दिनभित्र गरिएको पीसीआर रिपोर्ट वा ७२ घण्टा भित्र गरिएको एन्टिजेन रिपोर्ट अथवा खोप लगाएको कार्डकाआधारमा जिल्ला प्रवेशको अनुमति प्रदान गरेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार धार्मिक तिर्थालु तथा पर्यटकको सुविधाका लागि सोह्रश्राद्ध सुरुहुन अगावै मुक्तिनाथ मन्दिर दर्शन खुल्ला गरिएको थियो ।

मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै पर्यटकीय गतिबिधि समेत बढेको होटल अन्नपुर्ण इन मुक्तिनाथका सञ्चालक अमृत सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको बैशाखदेखि बन्द रहेको पोखरा—जोमसोम हवाई सेवा समेत असोज २३ गते नियमित सञ्चालनमा आएपछि पर्यटकहरु थप भित्रने गरेका छन् ।”

अन्य समाचारहरु