तीज बदलियो कि समय ?

तीज बदलियो कि समय ?

शिला पोखरेल

चेलीहरुले कर्मघरमा भोग्नुपरेका पीर व्यथा फुकाउने थलो बन्थ्यो तिज । प्रायः कारुणीक शैलीमा चेलीहरुले मनका बह कहन्थे र माईती घरबाट मन हलुंगो पारेर कर्मघरमा फर्कन्थे । वर्षदिनसम्म भेट नभएका भाईबहिनीहरु जुट्थे र मिठो मसिनो घरमा पाकेको परिकारमा रमाउथे । महंगा श्रीङगार र गरगहना भन्दा पनि तिजको माहोल नै महत्वपूर्ण थियो त्यतिबेला । पुरानै लुगा पुरानै गहनामा पनि खुलेर नाच्न गाउन सक्थे उनीहरु । हेर्दाहेर्दै तिजको रुप यसरी बदलियो कि यस पर्वको मर्म र अर्थ हामीमध्ये कतिपयलाई मात्र थाहा होला ।

तिज भन्ने बित्तिकै गित र दरको प्रसंग जोडिन्छ । तिजमा गाईने गित बेग्लै हुन्थे जुन चेलीहरुले मात्र गाउने गर्थे । त्यसमा पनि यस पर्वको इतिहास, यस पर्वसग गासिएका भगवानहरु, महिला उत्पीडन र घरेलु हिंसा, कर्मघरमा भोग्नु परेका दुःख, सुख, पीर र व्यथा, मौलिक भेषभूषा, माईती घरको बखान, दाजुभाई दिदिबहिनीहरु बीचको सामिप्यता लगायतका विषयहरुलाई उठान गरिन्थ्यो ।

तिजको केही दिन अघिबाट घरको मेलापात सकाएर माईतीघर जाने रौनक बेग्लै हुन्थ्यो । हरेक चेलीहरुले वेदना गितबाट पोख्न सक्थे जुन मौलिक भाका र भाषामा हुन्थ्यो । आमाले माईतीमा चेलीहरुलाई दर खुवाउने प्रयोजनका लागि भनेर ध्यू संगालेर राख्थिन् तिजको अघिल्लो दिन बाक्लो दूधमा पकाएको खाजा खिर र ध्यू, तामा र बोडीको तरकारी अँगेनाको डिलभरी बसेर चेलीहरु हास्दै रमाइलो गर्दै खान्थे, सकेसम्म अवेर राती दर खाने प्रचलन थियो किनकी अर्को दिन तिजको ब्रत बस्न सजिलो होस भन्ने हेतुले ।

वर्तमान अवस्थामा तिजको मौलिकता फेरिएको सहजै देख्न सकिन्छ । यसलाई धार्मिक र पौराणिक भन्दा पनि रमाईलो र देखावटी रुपमा धेरै लिइएको पार्ईन्छ । फलस्वरुप तिज उत्ताउलो र भड्किलो हुँदै गएको कुरा नकार्न सकिन्न । हुनत केही हदसम्म पितृसत्ताको दलन पनि घटेको होला, पिर व्यथाका स्वरुपहरु बदलिएका होलान् साथै महिला शसक्तिकरण पनि बढेको होला तथापी यो पर्व मनाउने तरिकाले छलाङ्ग मारेको जस्तो चेलीबेटीका समस्या घटेका छैनन् भन्ने उदाहरण हरेक दिन आउने समाचारबाट छर्लङ्ग हुन्छ । प्राचिनकालदेखि विभिन्न वाहानामा महिलाहरु उत्पीडन र विभेदको सिकार भएकै छन र गराईएकै छन् । तसर्थ अहिलेको सन्दर्भमा हामी महिलाहरुको महान चाड हरितालिका तिजलाई एउटा अवसरको रुपमा लिएर धार्मिक तथा सांस्कृतिक तवरबाट महिलाहरु माथि गरिएका उत्पीडन, शोषण र विभेदमाथि आवाज उठाउनु जरुरी देखिन्छ ।

दाइजो प्रथा र महिला हिंसाका घटना हुन छाडेका छैनन्, छाउपडी र बालबिवाहका प्रचलन कायमै छन् , हामीले पुरुषले जस्तै दारु खान पाउनुपर्छ , अझ दरमा मदिरा चाहिन्छ भन्ने माग कत्तिको जायज होला ? महिलाहरुले मदिरा खानै हुन्न भनेको होइन, चाहाना अनुसारको पोशाक लगाउनु हुन्न भनेको होइन तथापी सदियौ देखि जीवित समस्याहरुलाई पन्छाएर पश्चिमा संस्कार अंगालेर यसलाई प्राथमिकतामा राख्दा कतै विकृती त भित्राएका छैनौ ? कालान्तरमा यसबाट पर्ने प्रभावको विषयमा पनि चनाखो हुने बेला भएको छ । सबै धार्मिक र सास्कृतिक मुल्य मान्यताहरुको जगेर्ना गर्नुपर्ने देखिदैन । हामी एकाइसौं शताब्दीमा आईपुग्दा हरेक प्रचलनको हरेक तवरबाट विश्लेषण गरि चिरफार गर्नू अपरिहार्य हो कि ?

तिजको दिनभन्दा एक महिना अगावैबाट तिजको दर खाने कार्यक्रमहरु आयोजना गरिन्छन् , आधुनिक गित संगितले गुन्जिएका पार्टी प्यालेसहरुको माहोल बेग्लै बनिदिन्छ । खानपिन देखि लिएर नाचगान र भेषभुषा आधुनिक लाग्छ एकैछिनको रमाइलो पश्चात सकिन्छ कार्यक्रम, यसले सन्देश के दिएको छ ? बर्षेनी तिजको दर खाने नाममा कति फजुल खर्च भईराखेको छ, कहिल्यै मनन् गरेका छौ ? हुने खाने वर्गहरुलाई त ठिकै छ हुदा खाने वर्गहरुले कसरी यस्ता पर्वको मर्म धान्ने ? वर्गीय असमानताको एउटा रुप यहा पनि देखाएका छौं कि ? हरेक वर्ष फेरिने भेषभुषाका डिजाईनमा सबै वर्ग र समुदायको पहुच पुग्छ त ? भन्न खोजिएको कुरा के भने भड्किलो बन्दै गईरहेको तिज पर्वले गरिब र निमुखा महिलाहरुलाई कसरी समावेश गर्ला भन्ने प्रश्न अवश्य उब्जिन्छ । अझ अर्को कुरा तिजको दिनमा निराहार ब्रत बस्दा पतिको आयु लम्बिने मान्यतालाई हामीले कसरी पालना गरिरहेका छौं र यस मान्यताको सत्यता कसले खोजी गरेको छ ? विकृति र विसंगतिहरु उल्लंघन गर्न किन डराइरहेका छौं, किन लाज मानिरहेका छौं ? यसको मतलब तिज पर्वको नाममा हामी कुन दिशामा गईरहेका छौं भन्ने कुरालाई आत्मबोध गर्दै अँगाडी बढ्नु सान्दर्भिक देखिन्छ कि ?

तथापी विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण यस वर्ष विगतका वर्षहरुमा जस्तो जमघट र भेला हुने परिस्थिति भने छैन । यस्तो महामारीले आक्रान्त पारेको समयमा तिज पर्व पनि ओझेलमा परेको कुरा सर्वविधितै छ । यस त्रासको बावजुत आफ्नो परिवारभित्र सीमित रहेर भएपनि यस पर्वलाई आफ्नै तरिकाले मनाउनुपर्ने बाध्यता भने छँदैछ । अन्तमाः सम्पुर्ण देश तथा विदेशमा रहनुहुने हिन्दु महिलाहरुलाई हरितालिका तिजको अवसरमा सुस्वास्थ्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

लेखक- डिभिजन वन कार्यालय अर्घाखाँची अधिकृत हुन ।

अन्य समाचारहरु