असारे भेल (कविता )

असारे भेल (कविता )

पिताम्बर बन्जाडे
 
सफा पानी कतै बग्दैन अचेल ;
चलिरहेछ असारे दर्के झरीको भेल ।
सुरक्षित वस्तिका लागि ;
हेर्नलायक पनि छ अचेल ।
निम्छरा वस्तिहरूका लागि ;
कालसर्प जस्तै बग्दै छ यो भेल ।

सालवसाल आइरहन्छ असारे भेल ;
नीतिनिर्माताहरू हिउँदभरि सुतीरहन्छन्
असारका जुकाहरूसंगै जाग्छन् अचेल ।
कति वस्तिहरू उजाडिए ;
कति वस्तिहरू च्यापिए ;
कति निर्मम् ! भयो ?
असारे दर्के झरीको भेल ।

के पहाड , के खोंच , के मैदान ;
उस्तै सकस छ यो भेल ;
कतै पैरो,कतै डुबान , कतै कटान् ;
सवैतिर उस्तै त्रास छ अचेल ।
पति पत्नीको वियोग बनाउछ यो भेल ;
आमा र सन्तानको माया चुडाउँछ यो भेल ;
उफ् ! सम्झन पनि सक्दिन म त अचेल ।
चलिरहेछ असारे दर्के झरीको भेल ।

गाउँ च्यापिएपछि , वस्ति डुवेपछि ;
आकाशमा गिध्द र वस्तिमा श्यालहरू ; रिंदैछन् अचेल ।
न बस्ने बास छ , न खाने गास छ ।
सर्प , बिच्छी ,लामखुट्टे र झिंगाको ;
मात्र बिगबिगी छ अचेल ।
धमिलो पानीमा माछा मार्ने ;
निशाचरहरू खेल्छन् अनेक खेल ।
चलिरहेछ असारे दर्के झरीको भेल ।
अस्तु: