स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।

आज बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भएकोले तयारी थाल्न आग्रह गरेका छन्।

‘जेठ ४ मा स्थानीय चुनाव गर्ने भनेर हामीले परामर्श दियौं,’ छलफलपछि निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले हुन्छ भन्नुभएको छ।’

प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने पनि बताएका छन्।

‘ठिक छ, राम्रोसँग निर्वाचन तयारी गर्नुस्, अब बस्ने क्याबिनेटबाट चुनाव मिति तोक्छौं भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ आयुक्त पौड्यालले भने।

आयोगले जेठ ४ मा निर्वाचन गर्न आयोग तयार रहेकोसमेत बताएको थियो।

निर्वाचन व्यवस्थापनका लागि १२० दिन आवश्यक पर्ने भए पनि मतदाता नामावली संकलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले जेठमा निर्वाचन गर्न सकिने आयोगको भनाइ थियो।

साथै प्रधानमन्त्री देउवाले एकैचरणमा निर्वाचन गर्ने पनि बताएका थिए। ०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।

त्यसबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ मा सकिँदैछ। निर्वाचन आयोगले कार्यकाल सकिने दिन जेठ ५ अघि नै स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्न नपर्ने बताउँदै आएको थियो।

सत्तारूढ गठबन्धनमा भने जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति भएको थियो। गठबन्धनले आयोगको परामर्शमा सरकारलाई चुनावको मिति तोक्न भनेको थियो।

गठबन्धनले केही समयअगाडि राखेको बैठकमा केही संविधानविद्हरूले स्थानीय तह निर्वाचन ऐन २०७३ र संविधानका व्यवस्था बाझिएकाले ऐन संशोधन गर्न सुझावसमेत दिएका थिए। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु