नयन छ रसिलो (गज़ल)

-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
(चन्द्रागिरी न.पा-१३)
हाल:-न्युयोर्क,अमेरिका

दुख्दछ प्रवसन,जलन छ भरिलो
आँसु छ भलभल,नयन छ रसिलो

 स्वार्थ र मतलब प्रचुर छ जनमा
देख्दिन रतिपनि विमल र सुकिलो

सोच छ कमसल,विषम छ चलन
पाउन कठिन छ असल र गुनिलो

रम्दछ कपट र कलुषित पनमा
बाहिर मधुर छ,हृदय छ धमिलो

तीव्र छ विचल र छटपट खुदमा 
ज्यान छ अकुशल,तड़प छ गतिलो

लब्धि छ परिमित,जटिल छ लगन
ह्रास छ हितकर,नरम र लचिलो

पोल्दछ भतभत,सबतिर तनमा
घाउ छ कतिकति,कतिकति टुटिलो

दूर छ जनपद,अधिक छ तपन
याद छअविरल,विरह छ खँदिलो

"कोमल" मनभरिअटुट छ दहन
बन्द छ मृदु पथ सरस र सजिलो

३ र ७ मा विश्राम
चक्रपद छन्द