नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट,नक्कली श्रमस्वीकृति,प्लस टुको नक्कली सर्टिफिकेट,नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए। उनले अनसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको जानकारी दिए।
उनले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ,गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल,गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको बताए। अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ।
गिरोहले भिजिट भिसामा नक्कली कागजात बनाएर पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको छ। विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।
प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजात पनि बरामद गरेको छ।