काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिना शर्त रिहाई गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना शर्त अविलम्व रिहाईको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने बताउनुभयो ।
सभापति यादवले साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताउनु भयो । उहाँले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्ने बताउनुभयो ।
कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।