काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नु हुनेछ । यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो ।
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।
सर्वोच्च अदालतमा गत भदौदेखि नै स्वचालित पेशी प्रणाली सुरु भइसकेको छ । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गर्नुभएको थियो । यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराउनुएको थियो ।