राष्ट्रपतिबाट तक्मा थापेकी मालपोत अधिकृत ‘भ्रष्टाचारी’ ठहर

spot_img

काठमाडौँ । विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख अधिकृत लेखा पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजाय समेत सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधिशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले पनेरूलाई शुक्रवार ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घुससहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसपछि विशेषमा मुद्दा दायर गरेको थियो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट घुस लिएकी थिइन् । पनेरू महत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित भएकी थिइन् । -एनपि न्युज