काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी गरेका छन् ।
आज (शनिबार) बुटवलमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ’, विप्लवले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’
अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ । माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए । मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे । – एनपि