कांग्रेसको प्रश्नः कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला ?

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्यबारे प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधनका क्रममा शर्माले कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला भन्दै प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको दुई तिहाईको विश्वास फिर्ता भएको उल्लेख गरेका हुन् ।

‘राजनीतिक रुपमा अविश्वास छ तर गणतीय रुपमा विश्वासको जोहो हुँदैछ । अघिल्लो पटक दुई तिहाईको बहुमत तपाईंसँग थियो, आज टेलिभिजनका क्यामरा बन्द गर्ने हो र सत्ता पक्षमा हौं त्यसैले टेबल ठोक्नु हुँदैन भन्नेबाट माथि उठ्ने हो भने आज दुई तिहाईको विश्वास फिर्ता भएको छ ।’ सांसद शर्माले भने, ‘त्यसैले पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको, पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरु एकै पक्षमा उभिए भने भनेनि, धोका खाएकाहरु एकै ठाउँमा हौं भने भने नि ?’

पूर्वप्रधानमन्त्री केपी ओलीले कांग्रेसले कुरा गर्न खोज्दा नचाहेको भनेपछि जवाफमा शर्माले कांग्रेस र एमालेको कुरा चल्यो भन्ने प्रधानमन्त्रीको यात्रा कता चल्छ भन्दै प्रश्न गरे । – एनपी