काठमाडौँ । सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै विरोध जनाएकी थिइन् ।
‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई प्रधानमन्त्रीले गृहमन्त्री बनाएर ल्याउनुभएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ,’ सचेतक थिङले भनेकी थिइन् । उनले स्वार्थ बाझिने मन्त्रालयमा ल्याइएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन सहज ढंगले नचल्ने बताइन् ।
संसद्मा बोल्ने क्रममा ओलीले बैठकको शुरूमा कांग्रेसले राखेको विषयमा कटाक्ष गरेका थिए । ‘बिहानको परिस्थिति हेर्दा कांग्रेस दूधकुण्डमा नुहाएर आएकोजस्तो गर्यो, उसले ऐना हेरोस्,’ ओलीले भनेका थिए ।
बालकुमारी घटना सम्बन्धमा प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षमा रहेको एमालेले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । राज्यका निकायले अनुसन्धान गरिरहेको व्यक्तिलाई मन्त्री बनाएको विषयमा फागुन २४ गतेको बैठकमा समेत विषय उठान गरेको थियो ।
सहकारी ठगीमा फरार रहेका जीबी राईसँग रविको साँठगाँठ र सहकारीको पैसा ग्यालेक्सी टीभीमा लगाएको पाइएको थियो ।
-लोकान्तर