-गोपाल प्रसाद भट्टराई
साउन–६,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले नगरपालिकाको समृद्धिका निम्ती प्रत्येक नागरिक उत्पादनसंग जोडिनुपर्नेमा जोड दिनुभएको छ । राज्यको गलत नितिका कारण बढेको युवाहरुको विदेश पलायनलाई रोक्न भूमिकास्थानले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम ल्याएको उहाँको प्रष्टोक्ति छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको शनिबार सम्पन्न भूमिकास्थान नगर स्तरिय बिस्तारित बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो । “सुन्दा सामान्य लागेपनि कर्मशिल जनशक्ति परिचालनले नगरपालिकाको बसाइसराई समेत कम गर्ने छ ।” राजमो केन्द्रिय सदस्य समेत रहनुभएका नगर प्रमुख थापाले भन्नुभयो,“सिमित स्रोत–साधनको अधिकतम उपयोग गरेर उत्पादन, रोजगार र समग्र विकासमा हामी अगाडि बढेका छौं ।”
नगरपालिकाले गरेका राम्रा काममा खुलेर सहयोग गर्न र सकरात्मक सुझाव दिन नेता थापाले युवाहरुलाई आग्रह गर्नुभएको छ ।
समृद्धिका संवाहक युवाहरुलाई विदेश पलायन गराउने राज्यको गलत नितिका बिरुद्धमा गोलबन्द गर्दै युवाहरुलाई रोजगारमा जोड्नु अहिलेको मूख्य आवस्यकता भएको नेता थापाको जिकिर छ ।
भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै उहाँले पालिकालाई चौतर्फि विकासमा लैजान युवाहरुको सकरात्मक सहयोगको खाँचो समेत औल्याउनुभएको छ । नगरपालिकालाई राम्रो र अब्बल बनाउन सबैको सकरात्मक भूमिका हुनुपर्ने भन्दै नेता थापाले कमजोरी भए अगाडि उभिएर औल्याउन अपिल पनि गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भर बनाउने नगरपालिकाको अभियानलाई युवाहरुको साथ चाहिएको बताउनु भएको छ ।
टेकराज भुसालको अध्यक्षता, शुरेस आचार्यको स्वागत मन्तव्य र जिवन नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रय सचिव कुलराज खानाल, केन्द्रिय सदस्य ठाकुर पन्थी, जिल्ला अध्यक्ष रेसम वि.क., राजमो नगर सदस्य लक्ष्मण खत्री, राजमो खिल्जीका अध्यक्ष प्रकाश पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतले सहजीकरण गर्नुभएको थियो ।
युवाविद्यार्थिमा राजनिति र राज्यप्रति नैरास्यता धेरै बढेको निष्कर्ष निकाल्दै बैठकले यसलाई रोक्न राजनितिक सचेतना अभियान संचालन गर्ने निर्णय
गरेको बताइएको छ ।