चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

 

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले दाबी पेश गरेका थिए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् ।

यस्तोमा यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको थियो ।

एमाले महासचिव पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण  पछी हटेका हुन।   कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री भएका हुन् ।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।

No description available.

 

 

अन्य समाचारहरु