काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए।
अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री विपिन आचार्यले गर्ने छन्। कर्णाली प्रदेशमा पार्टी कमिटीहरूको पुनर्संरचना भइरहेकाले विशेष अभियान चलाउने निर्णय भएको झाले जानकारी दिए।
बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै विषयमा अध्ययन–अनुसन्धानका लागि आवश्यकताअनुसार केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा राजनीतिक समीकरण परिवर्तनपछि नेताहरूमाथि भइरहेका व्यक्तिगत प्रहार र अभियोगको विषय कसरी सामना गर्ने भन्ने विषयमा समेत छलफल भएको झाले जानकारी दिए।
-NP