अमेरिकामा नेपाली छात्रा पाण्डेमाथि गोली हान्ने पुरुषको तस्वीर सार्वजनिक

तस्बिर: नेप्योर्क

 

काठमाडौं ।अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ । ह्युस्टन प्रहरीले बुधबार गोली चलाउने अभियुक्तको तस्वीर सार्वजनिक गरेको हो । तर अभियुक्तको पहिचान अझै खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले समाचार लेखेको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत नेपालको भोजपुरकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फोला परेकी थिइन् । उनीमाथि गोली हानिएको थियो । सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् । ती व्यक्ति को हुन् भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले जनाएको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समुदायलाई सहयोग गर्न आग्रह गरेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरिएको छ । गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो ।

शनिबारदेखि सम्पर्कविहीन उनी सोमबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ । नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो । उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् । आफ्नी छोरी एक अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् । प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।