बारामा ४३ जना सवार बस पुलबाट खस्यो, १ जनाको मृत्यु, ४२ घाइते, चालकको अवस्था गम्भीर

 

काठमाडौंबारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ।

‘दुर्घटनामा दाङको गडवा गाउँपालिका-५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो।’

विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रहरीले जनाएको छ।

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ। ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ, ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’

अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ।