२७ जिल्ला उच्च जोखिमको सूचीमा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको छ ।
प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ ।
महाशाखाका मौसमविद गोविन्द झाले यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताए । ‘जलवाष्पयुक्त वायुको बहाव हेर्दा अरब सागर र बंगालको खाडी दुवैतिरको हावा नेपालतिर सोझिएको छ । यसले गर्दा बुष्टअप भइरहेको छ,’ मौसमविद झाले भने, ‘त्यसैले अहिलेको वर्षाले कृषिकर्म, यातायात र पर्यटन क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेकाले उच्च सतर्कता आवश्यक छ ।’
महाशाखाले यो वर्षाबाट अत्यधिक प्रभावित हुनसक्ने भनेर २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी ४२ जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।
महाशाखाले कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलाई रातो रङ्गले संकेत गरेर उच्च जोखिमको राखेको छ ।
यस्तै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।
हेर्नुहोस् उच्च, मध्यम र न्यून जोखिमको सूची-