भ्रष्टाचार विरुद्ध अभियान छेडेपछि मलाई सरकारबाट हटाइयो: प्रचण्ड

Open photo

 

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र भूमिफिया विरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। उनले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको समेत बताए।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निक्लेको छु। दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं। हामी जितको पक्षमा छौं।’

उनले भ्रष्टाचार विरुद्ध अभियान छेडेपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने बताए। प्रचण्डले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो। हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं। अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ। हामीले त्यसको घेरा तोड्दै आएका छौं।’

उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले बताए।

-एनपी