गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची ।
असौज–१९,अर्घाखाँची – अर्घाखाँचीमा गत आर्थिक बर्ष २०८०÷०८१ मा काम सम्पन्न भएर पनि भुक्तानी दिन नसकिएको रकम ५ करोड रुपैंया रहेको पाइएको छ । विभिन्न योजना÷आयोजनाको काम सम्पन्न भएपनि सन्चित रकम सकिएको, भुक्तानीको प्रक्रियामा प्राविधिक त्रुटी देखिएको जस्ता कारणले ५ करोडको दायित्व सिर्जना भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीले शुक्रबार आफ्नो एक बर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न बाधा अड्चनका कारण ५ करोड रकम काम सम्पन्न भएर पनि तिर्न नसकिएको उल्लेख छ । यस्तै अर्घाखाँचीमा १ करोड २९ लाख ६४ हजार ५ सय ३ रुपैंया रकम बेरुजु रहेको छ ।
विभिन्न कार्यालय तथा योजना÷आयोजनाको आन्तरिक लेखा परिक्षणबाट उक्त रकम बेरुजु देखिएको प्रमुख कोष नियन्त्रक बेल्वासेले बताउनुभएको छ । कार्यालयकै सभाहलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा अर्घाखाँचीले समग्रमा ९२ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको देखिएको छ ।
जिल्लामा क्रियाशिल नेपाल पत्रकार महासंघका पदाधिकारी सहित सक्रिय पत्रकार एव् सन्चारकर्मीहरु र विभिन्न कार्यालयका लेखा अधिकृतहरुको सहभागितामा सम्पन्न कार्यक्रमको संचालन दुर्गा वि.क.ले गर्नुभएको थियो । कार्यक्रममा उठेका सवालको जवाफदिंदै प्रमुख कोष नियन्त्रक बेल्वासेले अनुदानमा दोहोरोपना, बिषयगत खर्च गर्न नसक्नु र संघिय निजामती सेवा ऐन जारी नहुँदा निम्तिएको समस्याले आर्थिक शुसासनको लक्ष्य हाँसिल गर्न नसकेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रुद्रमणी भुसालले मन्तव्य राख्दै जिल्लाको आर्थिक समृद्धि र शुसासनलाई चुस्त पार्न सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभएको छ ।