भूमिकास्थान–३ र ४ धारापानीमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न ।

गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

असौज–१९ ,अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देशको राष्ट्रियता, सार्वभौमकता, र अखण्डता माथि कालो बादल मडारिएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहिबार भूमिकास्थान–३, धारापानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालका लागि संघियता क्यान्सर रोग जस्तै भएकोले यसलाई खारेजी गर्न ढिला भैसकेको महासचिव भट्टको भनाई छ । “संघियताले अरु दलको पनि ओठ मुख सुकेको छ ।”महासचिव भट्टले भन्नुभयो,“आफैले खनेको खाडलमा फसे जस्तै भएकोले उम्कन नसकेको हो ।” महासचिव भट्टले अहिलेको सरकार भारत र अमेरिकाको खेलौना बनेको आरोप पनि लगाउनुभएको छ ।

भारत र अमेरिकी साम्राज्यवादको डिजाइनमा बनेको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने उहाँको तर्क छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, अन्टुक भूमिकास्थान नगर अध्यक्ष तिलकराम भट्टराई र राजमो स्थानिय नेता दण्ड प्रसाद भुसालले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

राजमो भूमिकास्थान–३ का वडा अध्यक्ष कमला थापाको अध्यक्षता र भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँ केन्द्रित संघियता विरोधी आन्दोलन घोषणा गरेको जानकारी गराउँदै देश र जनताको घाँटी निमोठ्नेहरुका बिरुद्ध एकताबद्ध हुन आम रुपमै अपिल गर्नुभएको छ ।

कार्यक्रममा भूमिकास्थानको कार्यपालिका सदस्य बिष्णु सुनार, अन्टुक जिल्ला अध्यक्ष इन्द्रमणी भुसाल, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य खेमराज भाट, विरेन्द्र पौडेल, भूमिकास्थान–३ का वडा सदस्य डाँसिराम भुसाल, वडा सदस्य हुम बहादुर सुनार, राजमोका वडा समिति सल्लाहकार नारायण प्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो । यसैविच राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शुक्राबार भूमिकास्थान–४ धारापानीमा पनि अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख वक्ता राजमो केन्द्रीय महासचिव मनोज भट्टले नोपलको राष्ट्रियता दिन प्रति दिन सङ्कटमा पर्दै गइरहेको र गणतन्त्र र धर्मनिरपेक्षता माथि पनि आक्रमण भइरहेको जिकिर गर्नुभएको छ । अहिलेको सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने महासचिव भट्टको आरोप छ । मुलुकभर अधिक बर्षाका कारण महाबिपत्ति आइरहँदा सरकारका मान्छेहरु घुमफिरमा ब्यस्त हुनु बिडम्बना भएको उहाँको भनाई छ ।

भूमिकास्थान–४ का विभिन स्थानबाट सहभागी भएका राजमोका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण मुलक सम्बोधन गर्नुभएका महासचिव भट्टले सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुसंग सचेत हुन अपिल गर्नुभएको छ ।

राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी. र अनेम संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेलले पनि कार्यक्रममा बोल्नुभएको थियो । कृष्ण बहादुर सुनारको अध्यक्षता र झविन्द्र चुंदालीको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघियताको खारेजी अपरिहार्य भएको बताउनुभएको छ । भ्रष्टाचारलाई संरक्षण गरेर सरकारवादी दलहरुले गणतन्त्रकै बदनाम गराएको उहाँहरुको आरोप छ ।