नेपाल संस्कृत विश्वविद्यालयको दश बर्षपछि चौथो दिक्षान्त समारोह

– दुर्गालाल केसी

 

दाङ  – नेपाल संस्कृत विश्वविद्यालयको चौथो दिक्षान्त समारोह मंगलबार केन्द्रीय कार्यालय बेलझुण्डीमा हुँदैछ । बिभिन्न आन्तरिक खिचातानी र लगातारका आन्दोलनका कारण २०५७ सालपछि दिक्षान्त हुन सकेको थिएन ।

१० बर्षपछि दिक्षान्त हुन थालेकाले विश्वविद्यालयमा अहिले बेग्लै रौनक छाएको छ । मंगलबार बिहान ८ बजेदेखि कार्यक्रम शुरु भएको छ । दिक्षान्त भाषणका लागि प्रमुख अतिथिका रुपमा राष्ट्रिय संस्कृत संस्थान नयाँ दिल्ली भारतका कूलपति प्रा.डा. राधाबल्लभ त्रिपाठीलाई निमन्त्रणा गरिएको छ ।

कुलपति एवं प्रधानमन्त्री झलनाथ खनालले शास्त्री, आचार्य र बिद्यावारिधिका ४ हजार ८७ बिद्यार्थीलाई दिक्षित गर्ने तयारी भैरहेको बिश्वबिद्यालयले जनाएको छ । कार्यक्रममा सहकुलपति तथा शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगाएत बिभिन्न प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहने भएको छ ।

हरेक बर्ष गर्नुपर्ने दिक्षान्त १० बर्षसम्म हुन नसकेपछि बिद्यार्थीलाई मुल प्रमाणपत्र लिन समस्या भएको थियो । सशस्त्र द्वन्द्वको प्रभाव र २०६४ सालपछि बिश्वबिद्यालयको नाम महेन्द्र संस्कृतबाट नेपाल संस्कृतमा परिवर्तन भएकाले दिक्षान्तमा ढिलाइ भएको उपकूलपति विदुरप्रसाद पौडेलले बताए । दिक्षान्तमा बिद्यार्थी र अतिथिहरुसहित १ हजार ५ सय बढी सहभागी हुँदैछन् ।