छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल

 

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकीहरूलाई चिढ्याएर सम्झौता गर्न नहुने जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूको सामूहिक छलफलमा नेपालले सो कुरा बताएका हुन्।

‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनुहुन्न, असंलग्न परराष्ट्र नीति अनुसार सुमधुर सबन्ध राख्नुपर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासोप्रति पनि सम्मान गर्नुपर्छ,’ बैठकमा नेपालले भने।

आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले बैठक बोलाएका थिए।

सञ्चारकर्मीसँग पनि छोटो प्रतिक्रिया दिँदै शान्तिभूमिको देश भएकाले असलंग्न परराष्ट्र नीति अनुसार अघि बढनु पर्नेमा बैठकमा जोड गरेको उनले जानकारी दिएका छन्।

‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ, त्यो ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ भन्ने सन्देश दिनु पर्छ,’ उनले भने, ‘कुनै पनि छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन।’