-गोपाल प्रसाद भट्टराई, मंसिर–११,अर्घाखाँची।
अर्घाखाँची, भूमिकास्थान – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ४ महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।
सोमबार अन्नपूर्ण मा.वि. धारापानीको प्राङ्गणमा सम्पन्न चालु आ.ब.२०८१÷०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थानले आफ्नो चार महिने प्रगति सार्वजनिक गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरपालिकाको समृद्धिका निम्ती काम गर्न सक्ने उमेर समुहका सबै नागरिकलाई उत्पादनसंग जोड्ने भूमिकास्थानको योजना रहेको सुनाउनुभएको छ । “सुन्दा सामान्य लाग्न सक्छ, कर्मशिल जनशक्ति परिचालन कार्यक्रमको फाइदा र परिणाम दिर्घकालिन सम्म रहनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले भन्नुभयो ।” नगरप्रमुख थापाले भन्नुभयो, “ यसले नगरपालिकामा रोजगारी सिर्जना गर्नेछ, आम्दानी वृद्धि गर्नेछ र बसाइसराई रोक्न समेत कम गर्नेछ भन्ने हाम्रो विस्वास छ ।” भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै नगरप्रमुख थापाले पालिकालाई चौतर्फि विकास गरि समृद्धि पालिका बनाउन सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।
भूमिकास्थानले कर्मशिल जनशक्ति परिचालन कार्यक्रमलाई पहिलो प्रगति मानेको छ । गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने, नागरिकलाई उत्पादनमा जोड्दै कृषिमा आत्मनिर्भर बनाउने यो कार्यक्रमको उद्देश्य छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले भ्रष्टाचारलाई न्युनिकरण र शुसानयुक्त पालिका बनाउन ध्यान दिने वचन दिनुभएको छ ।
उहाँका अनुसार नियमित सेवा प्रवाह बाहेक कर्मशिल जनशक्ति परिचालन अन्तरगत बाँझो जग्गा उपयोग गरि रैथाने बाली उत्पादन गर्नु, यसले रोजगारी सिर्जना गर्नु, व्यवसायिक खेतीको सुरुवात हुनु, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी, झोला जस्ता विभिन्न सामाग्री निर्माण भई बजारिकरण हुनु, तरकारी पकेट कार्यक्रम सञ्चालन हुनुलाई नगरपालिकाले ४ महिनाको प्रगति मानेको छ ।
योजना शाखा प्रमुख भुसालका अनुसार पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक विस्तार एवम् कालोपत्रेको काम हुनु, योजना सम्झौता, व्यवसायिक पर्यटन विकासमा कामको थालनी हुनु, आवधिक योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्यको सेवालाई गुणस्तरिय बनाउन क्रियाशिल रहनु लगायतका रहेका छन् ।
नयाँ मिडिया प्रा.लि.को सहजीरकणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भुमिकास्थान– ४ का वडाध्यक्ष बाबुराम पन्थी, भूमिकास्थान– ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, स्वास्थ्यशाखा प्रमुख शुरेस गैरे, कृषिशाखा प्रमुख रामबहादुर थापा, लेखा अधिकृत जुना पाण्डे, इन्जिनियर
जितेन्द्र श्रेष्ठ, पशुसेवा प्राविधिक बलराम खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्य लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो ।
कार्यक्रमका सहभागिले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय र व्यवसायिक बनाई बसाइसराईलाई रोक्नुपर्ने, पालिकाबाट हुने विकास तथा अन्य कामको नियमित र प्रभावकारी अनुगमन गरिनुपर्ने, कृषिलाई व्यवसायिक बनाउन बजारिकरण सहितका सहयोग गर्नुपर्ने, विकासमा समानता भन्दापनि समतामुखि हुनुपर्ने लगायतका माग राखेका छन् ।
कार्यक्रममा भूमिकास्थान ३ र ४ बाट प्रतिनिधित्व गर्ने राजनितिक दल, कार्यपालिका सदस्य, वडा सदस्य, धारापानी स्वास्थ्यचौकी र प्रहरीचौकीका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थि, शिक्षक, वि.व्य.स., स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्था, उपभोक्ता समिति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।