साइबाबाले आफूलाई शिवको अवतार भनेकाले हिन्दु धर्म अनुसार उनको अन्तिम संस्कार गरिएको साई ट्रस्टले जनाएको छ । साथै उनकै इच्छा अनुसार साइकुलवन्त हलमा बनाइएको सात फित गहिरो, १२ फिट लम्बाईको समाधिस्थलमा समाधिष्ट गराइएको हो । अन्तिम संस्कारमा १८ पुरोहितद्वारा भौतिक मन्त्र पाठ गराइएको थियो । अन्तिम संस्कारका सबै काम साइबाबाको भतिजाले गरेका थिए ।
साइबाबाको समाधिमा कुरुक्षेत्रबाट ल्याइएको माटो, भारतको ठूला ९ नदी बाट ल्याइएको जल नुन, सुन चाँदी र नवरतन प्रयोग गरिएको थियो । ट्रस्टले भक्तजनले केहीबेर पछि समाधिस्थलको दर्शन गर्न पाउने व्यवस्था मिलाएको छ ।
तीन दिन अघि निधन भएको साइबाबाको पार्थिव शरिरलाई झण्डै दुई घण्टा चलेको अन्तयेष्टी समारोहमा परिवारका सदस्य, साइ ट्रस्टका पदाधिकारी तथा सदस्य र केही विशिष्ट व्याक्ति मात्र सहभागी भएका थिए ।