-टेकराज भुसाल ।
बुटवल। रुपन्देहीको सैनामैनामा अवस्थित ग्यालेक्सी इङलिस बाेडिङ्ग स्कुलमा ३ दिने संघीय नमुना संसद अभ्यास सम्पन्न भएको छ। ग्यालेक्सी इङलिस बाेडिङ्ग स्कुलकाे आयोजना तथा लुम्बिनी सामाजिक सचेतना संस्थाकाे सहकार्यमा मंसिर २१ गते शुक्रबारदेखी सुरु भएको संसदीय अभ्यास कार्यक्रम आज आइतबार सम्पन्न भएको हो ।
बिद्यार्थीलाई देशको संविधान, नियमकानुन, संसदीय व्यवस्थाको अभ्यास र अनुशासन सिकाई भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नका लागि ३ दिने संघीय नमुना संसदीय अभ्यास आयोजना गरेको ग्यालेक्सी इङलिस बाेडिङ्ग स्कुलले जनाएको छ।
कक्षा ९ र १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरुकाे सहभागीता रहेको उक्त संसदीय अभ्यास कार्यक्रम अमर पाण्डे, शंकर भुसाल, कृष्ण भण्डारी, निरज नेपालले लोकतान्त्रिक प्रणाली, शासकीय स्वरूप र राज्यसञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, संघीय सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिच अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।
सहभागी विद्यार्थीहरु मध्यबाट प्रधानमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री लगायतका विभिन्न मन्त्रालयका मन्त्रीहरु निर्वाचित गरि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, वार्षिक बजेट र विभिन्न विधेयकलाई पास गर्दै संघीय संसदको डेमाे समेत प्रस्तुत गरेका थिए।