सुदूरपश्चिमका ११ क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व

 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कतै विभिन्न संगठनबीच पद बाँडफाँट भएर त कतै एकल उम्मेदवारी परेर सर्वसम्मत नेतृत्व चयन भएको हो ।

११ मध्ये ६ मा अनेरास्ववियु, तीनमा नेविसंघ र दुईमा अखिल (क्रान्तिकारी) का सभापति चयन भएका छन् ।

दार्चुलामा त्रिविअन्तर्गतका सबै पाँचवटै क्याम्पसमा निर्विरोध रूपमा स्ववियु चयन भएको छ । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच भागवण्डा गर्ने सहमतिअनुसार निर्विरोध रूपमा चयन गरिएको हो । भागवण्डाअनुसार नेविसंघले दुई, अखिलले दुई र क्रान्तिकारीले एक क्याम्पस पाएको छ । अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटिनाथ क्याम्पस मार्मामा रुकेश विष्ट र कृष्ण स्नातक क्याम्पस लालिमा ओमकार पाल अखिलबाट सभापतित्वमा सर्वसम्मत चयन भएका छन् ।

यस्तै, नेविसंघको तर्फबाट अपिनम्पा क्याम्पस हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस दत्तुमा लिलु भट्ट सभापति चयन भएका छन् । शंकरपुर क्याम्पस दार्चुलामा अखिल (क्रान्तिकारी) की जानकी टमटा स्ववियु सभापतिमा निर्विरोध चयन भएकी छन् ।यस्तै, बझाङमा सेती क्याम्पसमा अखिलका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलका भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन् ।

अछामको साँफेबगर नगरपालिका– २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । कुँवर दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् ।शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा अनेरास्ववियु (क्रान्तिकारी) का बम धामी निर्वाचित भएका छन् । सुदूरपश्चिमका त्रिविअन्तर्गत रहेका ५३ कलेजमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रदेशभर त्रिविमातहतका ७६ कलेज भए पनि ५३ वटामा मात्रै संगठन दर्ता भएका छन् । -SP