इजरायलले फेरि गाजामा आक्रमण थाल्यो, ३४ जनाको मृत्यु, ७० घाइते

 

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि आक्रमण सुरु गरेको छ । आक्रमणमा परी ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् ।
रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ ।

यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।
इजरायली सेनाले विज्ञप्ति निकालेर हमासका क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरिएको  जनाएको छ ।

गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो । बीबीसीले यो आक्रमणलाई युद्धविरामयताको सबैभन्दा ठूलो हमला भनेको छ ।

इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
विज्ञप्तिमा हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको उल्लेख छ ।