अमेरिकाको राजधानी वासिङ्टन वरपर ५.९ रेक्टर स्केलको भूकम्प

न्युयोर्क, अमेरिका  – अमेरिकाको राजधानी वासिङ्टन वरपर मङ्गलबार अपरान्ह ५.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसको कम्पन न्युयोर्कसम्म पुगेको समाचार छ ।

भूकम्पपछि दर्जनौं मानिसहरु टाइम्स स्क्वायरमा जम्मा भएका थिए भने नजिकका गगनचुम्बी घरहरुबाट कार्यालयका कामदारहरुलाई बाहिर निकालिएको थियो ।

ब्रोडवेका एक व्यक्ति टम बिलियम्सले बताए भूकम्प जाँदा उनी ३० औं तलामा थिए र बत्तिहरु हल्लिएको देखेका र तुरुन्तै पहिलो तलामा ओर्लेका थिए । तर केहीले भने भूकम्प गएको चालै पाएनन् ।

सतर्कताको लागि जोन एफ केनेडी विमानस्थल र अर्को नेवार्क विमानस्थलमा पनि कन्ट्रोल टावरबाट मानिसहरु निकालिएको थियो ।

विमानस्थलमा केही उडानहरुपनि स्थगित भएका थिए । तर भूकम्पबाट खासै ठूलो क्षति भने भएको छैन ।