नेपालका १०१ प्रभावशाली महिलाहरुमा अर्घाखाँचीका महिलाहरु

केही दिन अगाडि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाले नेपालका १०१ प्रभावशाली महिलाहरुको विवरण प्रकासित गरेको थियो । कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरू सञ्जीवन महर्जन, अश्विनी कोइराला, यशोदा तिम्सिना, मैना धिताल तथा विजय पौडेलको मतका आधारमा १०१ प्रभावशाली महिलाको चयन गरिएको हो। छनोटका केही सीमाहरू रहँदारहँदै पनि यसलाई सकेसम्म पूर्ण बनाउने प्रयास गरिएको छ। साथै यहाँ नाम राख्दा मर्यादा, तह, वर्णानुक्रम आदि मिलाउने काम भएको छ्रैन। मानव जीवनसित प्रत्यक्ष एवं अप्रत्यक्ष सरोकार राख्ने सामाजिक, आर्थिक, राजनीतिक, औद्योगिक, कृषिजस्ता हरेक क्षेत्रमा परिवर्तनगामी सोचका साथ छुट्टै छाप छाड्न सफल स्तुत्य नारीहरू रुपमा ति महिलाहरुलाई १०१ प्रभावशाली महिलाहरु भनेर छनौट गरेको हो। यसैगरी १०१ प्रभावशाली महिलाहरु अन्तर्गत अर्घाखाँचीमा जन्मेका र राजनीतिक , सामाजिक सेवामा लागिपरेका तीन जना महिलाहरुलाई छनौट गरेको छ। ति महिलाहरुमा:-

 

पम्फा भुसाल



जन्मस्थान : अर्घाखाँची, पेसा : राजनीति

पम्फा भुसाल सशक्त नेतृ हुन्। २०३७ सालदेखि पार्टी सदस्य भएर काम गरेकी भुसाल २०३९ मा शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनपछि सशक्त रूपमै पार्टीमा लागिन्। सन् २००७ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी भुसाल २०६५ सालको निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भएकी थिइन्। भुसाललाई एकीकृत माओवादीभित्र दृढ धारणा राख्नसक्ने नेतृका रूपमा हेरिन्छ।

 

पुष्पा भुसाल


जन्मस्थान : अर्घाखाँची,शिक्षा : स्नातकोत्तर,पेसा : राजनीति एवं समाजसेवा

नेपाली कांग्रेसका वरिष्ठ नेता काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल बुवाकै कारण बाल्यकालदेखि नै राजनीतिमा प्रवेश गरेकी हुन्। २०६५ सालको निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाली कांग्रेसका तर्फबाट सभासद बनेकी भुसाल सफल राजनीतिज्ञ, कानुन व्यवसायीका साथै समाजसेवीका रूपमा पनि परिचित छिन्। लामो समय शिक्षण पेसामा संलग्न भुसालले महिला हकहितका लागि विभिन्न संघ-संस्थामा आबद्ध भएर काम गर्दै छिन्।

 

 

सावित्रा मरासिनी

जन्मस्थान : अर्घाखाँची,शिक्षा : स्नातकोत्तर,पेसा : शिक्षण एवं समाजसेवा

बाल्यकालदेखि नै समाजसेवाप्रति रुचि भएकी सावित्रा मरासिनी प्रतिभाशाली विद्यार्थीका रूपमा परिचित थिइन्। सादा जीवन एवं उच्च विचारकी धनी मरासिनी वर्तमान समयमा युवा-युवतीहरू अनुशानहीन बन्दै गएकामा चिन्ता प्रकट गर्दै अब सबै अनुशासित, मर्यादित एवं लगलशील भएर अध्ययन गरी भविष्यमा राष्ट्रसेवकका रूपमा अघि बढ्नुपर्ने धारणा राख्छिन्। मरासिनी गाउँमा सामुदायिक विद्यालयमा पढेर आएका विद्यार्थीहरूलाई सहरमा निजी बोर्डिङमा पढेका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न केही कठिन हुने बताउँछिन्।



 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु