चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको मृत्यु भएको गलत समाचार प्रसारण गरेको विषयलाई लिएर हङकङको टेलिभिजन च्यानल प्रमुखले राजीनामा दिए


 

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको मृत्यु भएको गलत समाचार प्रसारण गरेको विषयलाई लिएर हङकङको टेलिभिजन च्यानल एशियन टीभीका प्रमुख लिउङ का विङले राजीनामा दिएका छन् ।

 

गत जुलाईमा प्रसारित उक्त समाचार प्रसारण हुनबाट रोक्न असफल भएको जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९० औं वार्षिकोत्सव कार्यक्रममा पूर्व राष्ट्रपति जियाङ उपस्थित नभएपछि उनको मृत्यु भएको हुनसक्ने हल्ला चलेको थियो ।

 

एशियन टेलिभिजनले ६ जुलाईमा जियाङको मृत्यु भईसकेको समाचार प्रसारण गरेको थियो । तर ८५ वर्षिय जियाङ अस्पतालमा उपचार गराइरहेको पत्ता लागेपछि पनि उक्त टेलिभिजनले मृत्यु भएकै भन्ने खबर प्रसारण गरेको थियो । तर पछि उक्त समाचार झुठ सावित भएको थियो । सोही विषयलाई लिएर टेलिभिजनका प्रमुखले राजीनामा दिएका हुन ।