ईराकी उपराष्ट्रपति तारीक अल हासेमीले देशमा पछिल्लो समय भड्किएको हिंसाको जिम्मेवारी प्रधानमन्त्री नुरी अल मलिकीले लिनुपर्ने बताउनुभएको छ ।
राजधानी बग्दादमा हिजो भएको श्रृंखलावद्ध बम आक्रमणमा ५ दर्जन भन्दा धेरैले ज्यान गुमाएकोतर्फ लक्षित गर्दै हासेमीले प्रधानमन्त्री मलिकीकै कारण मुलुकमा अस्थिरता मच्चिएको आरोप लगाउनुभयो । यसअघि हिजो इराकको राजधानी बग्दादमा गराइएको श्रृंखलाबद्ध वम विष्फोटमा परी कम्तिमा ६३ जना मारिएका थिए । इराकी आन्तरिक मन्त्रालयका अनुसार विभिन्न १३ स्थानलाई आक्रमणको केन्द्र बनाइएको थियो ।
मुलुकको शान्ति सुरक्षा सुधार्नुपर्ने बेलामा प्रधानमन्त्री मलिकिले राष्ट्रवादी नेताहरुलाई समाप्त पार्न खोजेको आरोप हासेमीको छ । प्रधानमन्त्री मलिकिले केही दिन आगडीमात्रै उपराष्ट्रपति हासेमी विरुद्ध आतंकवादलाई प्रस्रय दिएको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि प्रधानन्त्री र उपराष्ट्रपतिबीचको सम्बन्धमा चिसोपन वढेको छ । प्रधानमन्त्री मलिकि शिया समुदायका नेता हुन् भने उपराष्ट्रपति हासेमी सुन्नी समुदायका नेता हुन् । राजधानी बग्दादामा शिया समुदायको बाहुल्यता छ भने सिरीयासँग सिमा जोडिएको कुर्दीस्तानमा सुन्नी समुदायको वर्चश्व छ । उपराष्ट्रपति हासेमीले सुन्नी निकट आतंकवादीहरुलाई सघाएको आरोपमा उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएपछि ईराकमा क्षेत्रीय साम्प्रदायीक राजनीति हावी भएको छ । उपराष्ट्रपति हासेमी हाल सुन्नी प्रशासित ईर्बील प्रान्तीय सरकारको संरक्षणमा छन् ।