फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीद्धारा सिरियाली राष्ट्रपति बसर अल असदलाई नरसंहारकारीको संज्ञा

फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले सिरियाली राष्ट्रपति बसर अल असदलाई नरसंहारकारीको संज्ञा दिएका छन् । असदले नागरिकविरुद्ध दमनकारी नीति अपनाएकाले तत्काल सच्चिन सार्कोजीले सचेत पनि तुल्याएका छन् । असद विरुद्ध फ्रान्स मात्रै नभई युरोप, अरब मुलुक र विश्वका अरु राष्ट्र पनि रहेको साकौजीको भनाइ छ ।


यसैबीच, सिरियाली मानवअधिकार संगठनले राष्ट्रपति समर्थक १८ सैनिकको हत्या गरिएको जनाएको छ । जागीर छोडेर भागेका सैनिकले राष्ट्रपति समर्थक सैनिकको हत्या गरेको सिरियन अब्जभेटरी फर ह्युमन राइट्सले जनाएको हो । सिरियाको दक्षिणी शहर जासिममा दुई समूहबीच भीडन्त हुँदा राष्ट्रपति समर्थक सैनिक मारिएका हुन् ।


यता, आगामी शनिबार अरब लीगका सदस्य राष्ट्रका विदेश मन्त्रीस्तरीय बैठक हुने भएको छ । बैठकमा सिरियामा रहेका अरब लीगका पर्यवेक्षकको शुरुवाती प्रतिवेदनको समीक्षा गरिने छ । सिरियामा शान्ति कायमका लागि सिरिया र अरब लीगबीच भएको सम्झौता पालना भएनभएको बारे छानबीन गर्न अरब लीगका ६० सदस्यीय पर्यवेक्षक टोली सिरिया पुगेको थियो । सिरियामा गत मार्चदेखि भएको सरकार बिरोधी प्रदर्शनका क्रममा पाँच हजारभन्दा बढी मारिएका छन् ।