अफगानिस्तानका तालिवानलाई प्रत्यक्ष सैन्य सहयोग गरिरहेको भन्ने नेटोको गोप्य रिपोर्ट आधारहिन: पाकिस्तान

पाकिस्तानद्धारा तालिवानलाई सैन्य सहयोग गरिरहेको आरोप अस्वीकार


पाकिस्तानले अफगानिस्तानमा सक्रिय तालिवानलाई प्रत्यक्ष सैन्य सहयोग गरिरहेको भन्ने नेटोको गोप्य रिपोर्टमा लगाइएको आरोपलाई आधारहिन भनेको छ । बीबीसीले प्राप्त गरेको नेटोको रिपोर्टमा पाकिस्तानसंग ठूला तालिवानी नेताहरुको बारेमा धेरै जानकारी रहेको उल्लेख गरिएको छ । तर पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीले भने अफगानिस्तानमा हस्तक्षेप नगर्ने आफ्नो नितिमा पाकिस्तान प्रतिबद्ध रहेको जनाएका छन् ।


बीबीसीले खुलासा गरेको उक्त रिपोर्टमा तालिवान अझै मजबुत रहेको र अफगानहरुबीच उसको निकै प्रभाव रहेको उल्लेख छ । रिपोर्टमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई र तालिवानको सम्बन्ध यथावत रहेको दाबी पनि गरिएको छ । ४ हजार भन्दा बढी तालिवानी , अलकायदा र अन्य चरमपन्थी संगठनका लडाकुसहित करिब २७ हजार मानिससंग सोधपुछ गरेर रिपोर्ट तयार गरेको बताइएको छ ।


रिपोर्टमा नेटोले अफगानिस्तानको सुरक्षा अफगान सुरक्षाकर्मीलाई नै सुम्पने रणनीति लिएपनि अफगान सुरक्षाकर्मी र विद्रोही संगठनबीच साँठगाँठ रहने गरेको जनाइएको । उनीहरुले पाकिस्तानी बजारमा आफ्ना हातहतियार बेच्ने गरेको समेत उल्लेख गरिएको छ । अल कायदाको प्रभाव कम भए पनि तालिवानको प्रभाव भने तिब्र गतिमा अघि बढेका रिपोर्टमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले आईएसआईका केही व्यक्ति र चरमपन्थी संगठनहरुबीचको सम्बन्धलाई लिएर अमेरिका चिन्तित रहेको जनाएका छन् । तर किर्बीले पछिल्लो रिपोर्टबारे भने पेन्टागनलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।