सिरियामा बढ्दै गएको राजनीतिक संकटबारे छलफल गर्न रुसी विदेशमन्त्री सर्गेई ल्याभारोभ आज सिरियाको राजधानी दमास्कस पुग्नु भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सिरियामा विपक्षीहरुमाथि भएको दमनको निन्दा प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरेपछि रुसी विदेशमन्त्री सिरिया पुग्नु भएको हो ।
दमस्कसमा ल्याभरोभ पुग्दा ठूलो संख्यामा असादका समर्थकहरुले उहांको स्वागत गरेका थिए । राष्ट्रपति असादले शक्ति हस्तान्तरण गर्नुपर्ने अरब लीगको प्रस्तावले सिरियामा बल पूर्वक सत्ता परिवर्तनको अबस्था निम्त्याउने मस्कोले जनाउदै आएको छ ।
रुस सिरियालाई हतियार निर्यातकर्ता गर्ने प्रमुख राष्ट्र हो । उता टर्कीले सिरियाको विषयमा नयां अन्तर्राष्ट्रिय अग्रसरता शुरु गर्ने जनाएको छ । यसैबीच सिरियामा विपक्षी प्रदर्शनकारीहरुले केन्द्र बनाउदै आएको होम्स् शहरमा सेनाले कारवाहीलाई तिब्रता दिएको छ ।
हिजो मात्र सेनाको कारवाहीमा ९५ जना मारिएका थिए । सिरियामा मार्च यताको सरकार विरोधी प्रदर्शनमा ५ हजार ४ सय भन्दा बढी मारिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ भने सिरियाली सरकारले विपक्षी हतियारधारी समुहको आक्रमणमा आफ्ना २ हजार सेना मारिएको दाबी गरेको छ ।
सिरियामा सुरक्षाकर्मीले सरकार विरोधी प्रदर्शनकारीले केन्द्रविन्दु बनाउदै आएको होम्स् शहरमा भिषण गोलावारी गर्दा सयौ जना मारिएका छन् ।
शहरमा सुरक्षाकर्मीहरुले ११ महिना यता कै तिब्र आक्रमण गरेको प्रदर्शनकारीहरुले जनाएका छन् । यस क्रममा अस्पताललाई समेत निशाना बनाइएको बताइएको छ । घाइते प्रदर्शनकारीहरुको उपचार भइरहेको अस्पताललाई आक्रमणको निशाना बनाइएको वताइएको छ ।
सरकारले हेलिकप्टर र ट्यांकको समेत प्रयोग गरेको विपक्षीको आरोप छ । प्रदर्शनकारीहरुले पनि स्वचालित हतियार प्रयोग गरेको जनाइएको छ । हिजो मात्र विभिन्न शहरमा गरिएको प्रदर्शनकारी विरुद्धको सैन्य कारवाहीमा २८ जना मारिएका थिए ।
यसैबीच रुस र चीनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा सिरिया विरुद्धको निन्दा प्रस्ताव विरुद्ध भिटो प्रयोग गर्ने आफ्नो निर्णय सही भएको जनाएका छन् । तर रुस र चीनको यो कदमबाट राष्ट्रपति बशार अल असादका विरोधी निकै आक्रोशित भएको बताइएको छ ।