आतंकवादी सञ्चाल अल कायदाका शिर्ष नेता सेफ अल एडेन इजिप्टको कायरो विमानस्थलमा पक्राउ परेका छन् । इजिप्सियन सुरक्षा अधिकारीहरुका अनुसार उनी पाकिस्तानबाट दुवई हुंदै कायरो गएका थिए ।
उनको वास्तविक नाम मोहम्मद इब्राहिम मक्कावी भएको बताइएको छ । इजिप्सियन नागरिक एडेनले ओसामा बिन लादेनको सुरक्षा प्रमुखमा रहेर काम गरेको र अल कायदाको सैन्य कारवाहीमा महत्वपूर्ण भूमिका निभाएको बताइएको छ ।
सन् १९९८ मा पूर्वी अफ्रिकामा अमेरिकी दुतावासमा गरिएको आक्रमणपछि अमेरिकाले उनको खोजी गरिरहेको थियो । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सैन्य अभियान थालिएपछि उनी लादेनका छोरा साद बिन लादेनसंगै इरान भागेको विश्वास गरिएको छ ।
इरानमा उनीहरुलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डले नजरबन्दमा राखेको पनि विश्वास गरिंदै आएको थियो । एडेनको गिरफ्तारीले अलकायदा संजाललाई ठूलो झड्का लाग्ने विश्लेषण गरिएको छ ।