भारतमा ५ वटा राज्यमा सम्पन्न विद्यानसभा चुनावमा सत्तारुढ कांग्रेस पार्टीलाई नराम्रो पराजय
फाल्गुन २३ गते, २०६८ मा प्रकाशित
भारतमा ५ वटा राज्यमा सम्पन्न विद्यानसभा चुनावको नतिजाले सत्तारुढ कांग्रेस आई पार्टीलाई ठूलो झट्का लागेको छ ।
उत्तर प्रदेश, पञ्जाव, उत्तराखण्ड, गोवा र मणिपुर राज्यमा भएको विद्यान सभा चुनावको मत परिणामले सत्तारुढ कांग्रेसलाई मणिपुर वाहेक अन्य राज्यहरुमा सत्ताबाट बाहिरै राखेको छ ।
भारतीय राजनीतिमा निकै अर्थ राख्ने उत्तर प्रदेशमा त प्रान्तीय सरकारको नेतृत्व गदै आएकी मायावतीको बहुजन समाजवादी पार्टी नराम्रोसँग पराजित भएको छ । उत्तर प्रदेशमा मुलायम सिंह यादवको समाजवादी पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । केन्द्र सरकारको नेतृत्व गरिरहेको कांग्रेस आई उत्तर प्रदेशमा चौथो स्थानमा सिमित भएको छ ।
उत्तर प्रदेशको चुनावलाई कांग्रेस आइका महासचिव राहुल गान्धी र मुलायम सिंह यादवका छोरा अखिलेश यादवबीचको लडाईको रुपमा हेरिंदै आएको थियो ।
तर चुनावी परिणामले अखिलेश यादवको राजनीतिलाई निकै माथि उठाएको विश्लेषण गरिंदै छ । यद्यपी उनले आफ्ना पिता मुलायम सिंह नै राज्यको मुख्यमन्त्री बन्ने बताएका छन् । उत्ता पञ्जावमा पनि अकाली दल र भारतीय जनता पार्टीको गठबन्नले बहुमत हासिल गरेको छ । पञ्जावमा पनि कांग्रेस आई तेस्रो स्थानमा समेटिएको छ ।
यस्तै उत्तराखण्डमा भारतीय जनता पार्टी अग्रस्थानमा रहेको छ । उता, गोवामा भारतीय जनता पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । मणिपुरमा भने कांग्रेस आइले बहुमत प्राप्त गरेको छ ।
पाँच राज्यको विधान सभामा कांग्रेस आईको नराम्रो पराजयलाई स्वामी रामदेव र गान्धीवादी समाजसेवी अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानको प्रभावको रुपमा पनि विश्लेषण गरिएको छ ।