आज फागुपूर्णिमा होली पर्व ! आपसी सद्भावको रुपमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ मनाइँदै


 

– आज फागु पूर्णिमा अर्थात होली, आपसी सद्भावको रुपमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
 


अर्घाखाँचीको एक गाउँमा रङ खेली मनाउदै स्थानियहरु। तस्बिर: अर्घाखाँचीडट्कम/फाइल


राजधानी लगायत पहाडी भेगमा होली आज मनाइँदै छ भने तराईका जिल्लाहरुमा भोली मनाउने गरिन्छ।

 

होलीलाई सांस्कृतिक सद्भावको रुपमा हेरिएपनि केहीवर्ष देखि होली खेल्ने तरिकामा विकृती समेत देखिन थालेको छ। होलीलाई सद्भाव पर्वकै रुपमा लिनु श्रेयकर देखिन्छ।

 


 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ।

आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।


उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ।


फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।


यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाइन्छ।


आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ।


दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ।


त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।


फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ।


तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ।


यस पर्वका उपलक्ष्यमा आज फागु पूर्णिमाको अघिल्लो दिनसम्म गत वर्षको तुलनामा अपरिचित पैदलयात्रीलाई लोलाहान्ने तथा अभद्र व्यवहार गर्ने कार्य छिटफुट वाहेक नगन्य रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।


महानगरीय प्रहरी कार्यालयले यस वर्ष उपत्यका भित्र कडा सुरक्षा व्यवस्था अपनाउनुका साथै सवारी साधनबाट टोल तथा गल्लीमा समेत माइकिङ प्रचार-प्रसार गरिएको र यो जारी रहने जनाएको छ।


यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन्।


यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै स-परिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन्।


सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मिठामिठा खानेकुरा खाई रमाइलो गर्ने गर्दछन्।


फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ। रासस