सिरिया सरकारद्धारा सेना फिर्ता गर्नु अघि विपक्षीबाट हतियार त्याग्ने लिखित प्रत्याभुति खोजे

सिरिया सरकारले मुलुकका विभिन्न क्षेत्रबाट सेना फिर्ता गर्नु अघि विपक्षीबाट हतियार त्याग्ने लिखित प्रत्याभुति खोजेको जनाएको छ ।

 

विज्ञप्तिमा कोफी अन्नानले अहिले सम्म विपक्षी हतियारधारी आतंककारी समुहले हिंसा अन्त्य गर्ने लिखित प्रत्याभूति प्रस्तुत नगरेको जनाइएको छ । सिरियाको विदेश मन्त्रालयद्धारा जारी यो विज्ञप्ति राष्टसंघको पहलमा हुन लागेको युद्धविरामको दुई दिन अघि मात्रै आएको हो ।

 

यता शनिवार मात्रै सरकारी सेनाले गरेको कारवाहीमा १ सय ६० भन्दा बढी मानिस मारिएका छन् । अधिकारकर्मीहरुले यस दिनलाई सिरियामा राष्ट्रपति बशार अल असादको शासनविरुद्ध भएको प्रदर्शनकै सबैभन्दा रक्तपातपूर्ण दिन भनेका छन् । लाताम्नेह र हामा शहरका आसपासका क्षेत्रमा सैन्य दमन बढी भएको बताइएको छ ।

 

संयुक्त राष्ट्रसंघ र अरब लीगको छ बुँदे शान्ति योजनामा सिरियामा अप्रिल १० सम्म सबै पक्षबाट हिंसा रोक्ने र १२ अप्रिलबाट पूर्ण युद्धविराम लागु गर्ने उल्लेख छ ।

 

राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मध्यस्थतामा तयार पारिएको शान्ति सम्झौताका लागि राष्ट्रपति असाद सहमत भएका थिए । सिरियामा एक वर्ष यता राष्ट्रपति असादको शासनविरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।