भारत जुनसुकै युद्धका लागि पूरै तयार रहेको भारतका रक्षामन्त्रीको दाबी

भारतका रक्षामन्त्री ए के एन्टोनीले भारतीय सेनासंग गोला बारुदको कुनै कमी नभएको र भारत जुनसुकै युद्धका लागि पूरै तयार रहेको बताउनु भएको छ ।

 

भारतीय स्थल सेनाध्यक्ष वीके सिंहले भारतीय सेनासंग पर्याप्त मात्रामा हातहतियार र गोलाबारुद नरहेको भन्दै प्रधानमन्त्री मनमोहन सिंहलाई लेखेको पत्र सञ्चार माध्यमहरुमा चुहिएपछि उत्पन्न विवादमा रक्षामन्त्री एन्टोनीले यस्तो दाबी गर्नुभएको हो ।

 

संचार माध्यमहरुले सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै वायु सेना र थलसेनासंग केबल चार दिनलाई मात्र पुग्ने गोला बारुदको मौज्दात रहेको उल्लेख गरेका थिए ।

 

संसदीय समितिले भने सेनाका तिन प्रमुखहरुलाई समिति समक्ष उपस्थित हुन निर्देशन दिएको बताइएको छ । भारतमा केही दिन यता सेना र सरकारबीच विभिन्न विषयलाई लिएर विवाद हुंदै आएको छ ।

 

सेना प्रमुख सिंहको जन्ममितिबाट शुरु भएको विवाद अब सेनाको तयारी, भ्रष्टाचार र अुनशासनको विषय सम्म आइपुगेको छ ।