सिरियामा युद्धविराम शुरु भए पनि हिंसात्मक घटनामा भने कमी आएको दाबी

सिरियामा युद्धविराम शुरु भए पनि हिंसात्मक घटनामा भने कमी आएको छैन ।

 

हिजो मात्र सरकार विरोधीहरुको गढ मानिने होम्स् शहरमा सरकारी सेनाको कारवाहीमा २० जना मानिस मारिएको अधिकारकर्मीहरुको दाबी छ । एलेप्पो शहरमा शव यात्रामा सहभागिहरु माथि सेनाले गरेको कारवाहीमा धेरै जनाको हताहती भएको आशंका गरिएको छ ।

 

यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले सिरियामा युद्धविरामको समयमा पनि मानवअधिकारको उल्लंघन भएको भन्दै निन्दा गरेको छ । बैठकले सिरियाको युद्धविराम अनुगमनका लागि एक टोली पठाउने निर्णय गरेको छ । यो टोली आज दमस्कस पुग्ने बताइएको छ ।

 

परिषद्को यो निर्णयलाई सिरियाका विपक्षी समुहले स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघ र अरब लीगका विशेष दूत कोफी अन्नानको प्रस्ताव अनुरुप विहिवारबाट युद्धविराम शुरु भएको हो ।

 

सिरियामा एक वर्ष यता राष्ट्रपति बशार अल असादको शासनविरुद्धको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने ९५ हजार मानिस छिमेकी मुलुक टर्की र लेवनान पलायन भैसकेका छन् ।