जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै जनजाति महासंघद्धारा थप आन्दोलन घोषणा

काठमाडौ  – जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै आयोजना गरेको पहिलो चरणको कार्यक्रम सकिएपछि नेपाल आदिवासी जनजाति महासंघले थप कार्यक्रमहरु घोषणा गरेको छ ।

महासंघका अध्यक्ष राजकुमार लेखीले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार यही वैशाख १५ देखि २० गतेसम्म आफुहरुले उठाएको मागका सम्बन्धमा पर्चा अपिल वितरण गर्ने, वैशाख २० देखि २९ गतेसम्म देशव्यापी विरोधसभा गरी यसका बिरुद्धमा लागेका नेताहरुको सम्बन्धमा भण्डाफोर अभियान चलाउने, वैशाख ३० गते मसाल जुलुस प्रदर्शन गर्ने, जेठ १, २ र ३ गते आमहडताल गर्ने, जेठ ५,६ र ७ गते आदिवासी जनजाति राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने जेठ र जेठ ८देखि १४ गतेसम्म संविधानसभा भवन अगाडी निरन्तर धर्ना र घेराउ गर्ने उल्लेख गरिएको छ ।

प्रमुख दलहरुबीच सात प्रदेश सहितको संघीय संरचनामा सहमति भएको समाचार सार्वजनिक भएदेखि महासंघले दवावमूलक कार्यक्रमहरु सुरु गरेको हो । यसअघि उनीहरुले दलहरुको बैठकस्थल हात्तीबन रिसोर्टमा धर्ना दिने, प्रमुख दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने, मसाल जुलुस र मंगलबार तराई बन्दको आह्वान गरेको थियो । – कान्तिपुर