धनगढी – राज्य पुनःसंरचनाका मुद्दामा राजनीतिक दलका शीर्ष नेताबीच निरन्तर बहस चलिरहेको बेला, सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान गरिएको छ ।
बन्दका कारण कैलालीलगायतका जिल्लामा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा शुक्रबार यहाँ भएको प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणले अखण्ड सुदूरपश्चिमको पक्षमा नाराबाजी गरेका छन् ।
माओवादीले सुदूरपश्चिमलाई टुक्र्याउने गरी राज्य पुनःसंरचनाको प्रस्ताव गरेको विरोधमा सङ्घर्षमा उत्रनुपरेको बन्दका आयोजकले बताएका छन् । बन्द कार्यक्रम अनिश्चितकालीन रहेको जनाइएको छ ।
क्षेत्रफलको दृष्टिले अन्य विकास क्षेत्रको तुलनामा सानो रहेको सुदूरपश्चिम विकासका दृष्टिमा समेत निकै पछि पर्दैआएको छ । – रासस