कांग्रेस सुशील कोइरालाद्धारा जातीय सद्भाव र सहिष्णुतालाई आँच पुर्‍याउने गतिविधि रोक्न सबैमा अपिल

काठमाडौ – कांग्रेस सभापति सुशील कोइरालाले जातीय सद्भाव र सहिष्णुतालाई आँच पुर्‍याउने गतिविधि रोक्न सबैमा अपिल गरेका छन् । शुक्रबार एक विज्ञप्ति निकाली कोइरालाले विभिन्न जात-जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरूका बीचमा सदियौंदेखि रहँदै आएको सद्भावको परम्परालाई अक्षुण्ण राख्नका लागि आ-आफ्नो ठाउँबाट सकारात्मक प्रयत्न गर्न सम्पूर्ण नेपालीमा अपिल गरेका हुन् ।

केहीदिनदेखि संघीयताको विषयलाई लिएर उत्रिएको प्रदर्शनले जातीय रूप लिनथालेकोमा चिन्ता व्यक्त गर्दै कोइरालाले आफ्नो विज्ञप्तिमा भनेका छन्- ‘विगत केही दिनदेखि नेपालको विभिन्न भागमा भइरहेको प्रदर्शनका क्रममा भएका अप्रिय घटनाहरू जुन यस्तो संस्कार अनुरूप छैन, यसले हामीलाई निकै चिन्तित बनाएको छ । यो संगीन घडीमा कुनै पनि कार्यक्रम गर्दा शान्तिपूर्ण रूपमा तथा सद्भाव र सहिष्णुता कायम गरियो भने मात्रै यसले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने कार्यलाई सहयोग पुर्‍याउँछ ।’

कोइरालाले जातीय सद्भाव र सहिष्णुतालाई आँच पुर्‍याउने कुनै पनि खालको गतिविधिलाई सम्पूर्ण रूपमा रोक्न अपरिहार्य रहेको बताएका छन् । ‘हामी विभिन्न जात-जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरू एउटै नियतिले बाँधिएका छौं । यसैले यहाँ प्रगति हुँदा सबैको हुन्छ, दुर्गति हुँदा पनि सबैको हुन्छ’ कोइरालाले भनेका छन- ‘हाम्रो बीचको एकता रहरको विषय मात्र होइन, हाम्रो अनिवार्य छनौट हो ।’

संविधान निर्माणको अन्तिम घडीमा आफ्नो अधिकार सुरक्षित गर्नका निम्ति विभिन्न क्षेत्र र समुदायहरूबाट आवाज उठ्नु स्वाभाविक भए पनि आफ्नो अधिकारका लागि आवाज उठाउँदै गर्दा र दबाब सिर्जना गरिरहँदा सदियौं कालदेखि हामीले नेपालीका बीचमा रहेको शान्ति, सद्भाव र सहिष्णुताको संस्कारलाई भने कायम राख्न सक्नुपर्ने कोइरालाले उल्लेख गरेका छन् । ‘सामाजिक विविधता, अहिंसा, सद्भाव र सहिष्णुता हाम्रो समाजको अमूल्य पुँजी हो । सद्भाव र सहिष्णुतालाई कुल्चेर हिंसा, घृणा र प्रतिशोधको जगमा गरिने कुनै पनि क्रियाकलाप सर्वथा अनुचित नै हुन्छ’ कोइरालाले भनेका छन- ‘त्यसैले सबै क्षेत्र र समुदायका नागरिकहरूले अहिंसा, सद्भाव र सहिष्णुताको हाम्रो अमूल्य पुँजीलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो आवाज उठाउनु पर्छ ।’  – कान्तिपुर