२५ वर्षपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहको बर्माका प्रजातन्त्रवादी नेतृ सुकीसँग भेटवार्ता

भारत र बर्माका शीर्ष नेताबीच भएको भेटवार्ता र समझदारीको चीनले स्वागत गरेको छ । दुबै देशको मित्र र छिमेकी भएका नाताले हामी भारत र बर्माबीच मित्रतापूर्ण सम्बन्ध कायम गर्दै दुबै देश एकार्काका सहयोगी बनेको हेर्न चाहन्छौं, चीनले भनेको छ ।

 

भारत र चीन दुबैका लागि राजनीतिक र व्यापारिक रणनीतिक महत्व बोकेको बर्माको सैन्य शासकसँग यसअघि चीनको विशेष सम्बन्ध थियो । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई नजरबन्द गर्दै सैन्य शासन लादेपछि भारतले भने बर्मासँगको सबै सम्बन्ध तोडेको थियो । पछिल्लो पटक सुकीलाई नजरबन्दबाट मुक्त गर्दै बर्मा प्रजातन्त्रको मार्गमा लम्केपछि भारतले पनि सम्बन्धको हात बढाएको हो ।

 

२५ वर्षपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह अहिले बर्मा पुग्नु भएको छ भने यसबीचमा बर्मासँग विभिन्न १२ सम्झौता गरिएका छन् । आजै सिंहको बर्माका प्रजातन्त्रवादी नेतृ सुकीसँग भेटवार्ता भएको थियो ।  हिजो मात्र प्रधानमन्त्री सिंह र बर्माका राष्ट्रपति थेन सेनबीच भेटवार्ता भएको थियो ।

 

दुई देशबीच भएका सम्झौतामा भारतबाट बर्मा हुंदै थाईल्याण्ड पुग्ने बाटो खोल्ने र भारतले बर्मालाई पचास करोड डलर ऋण उपलब्ध गराउने सम्झौतालाई महत्वपूर्ण मानिएको छ ।