काठमाडौ – सत्तारुढ माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत सरकारलाई समर्थन गरेको अन्य साना दलले संविधानसभाको निर्वाचनमा जुट्ने र त्यसका लागि वातावरण बनाउँदै लाने सहमति गरेको छ ।
आफ्नो सहकार्यलाई कायम राख्दै १९ दलले जनतामा फैलाइएको भ्रमलाई चिर्ने कार्यक्रम समेत ल्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा कांग्रेस, एमाले लगायतका दलले राष्ट्रपतिलाई सक्रिय पार्न खोजेको निष्कर्ष निकालिएको छ । बैठकपछि सदभावना पार्टीका अध्यक्ष एँव स्वास्थ्य मन्त्री राजेन्द्र महतोले कांग्रेस-एमालेले जनतामा फैलाएको भ्रम चिर्ने तथा संविधानसभा निर्वाचनको पक्षमा वातावरण बनाउने निर्णय भएको ईकान्तिपुरलाई बताए । उनले दुवै विषयमा केन्द्रीत भएर कार्यक्रम ल्याउने तयारी भएको जनाए ।
संविधानसभा निर्वाचनका लागि देखिएको कठिनाईहरुलाई राजनीतिक सहमतिबाट समाधान गरिने उनको कथन थियो । त्यसका लागि सबै विपक्षी दलहरुसंग पनि वार्ता गरिने उनले बताए ।
सरकार र निर्वाचन घोषणा विरुद्ध फैलाइएको भ्रम चिर्न सत्तारुढ दलले नागरिक समाज, पेसाकर्मी र कुटनीतिक नियोगका पदाधिकारीसंग पनि अन्तक्रिर्या तथा छलफल चलाउने निर्णय गरेको छ ।
कांग्रेस, एमाले, मधेशी जनअधिकार फोरम नेपाल लगायतका दलले निर्वाचनको घोषणा असंवैधानिक भएको भन्दै यही अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै आएको छ । प्रधानमन्त्रीले पद त्याग गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण हनुपर्नेमा ती दलहरुले जोड दिएको छ । बैशाख २६ गते राजधानीको खुलामंचमा सरकार विरुद्धको मोर्चामा रहेका दलहरुले बिरोधसभा गर्दैछ । –कान्तिपुर