अफ सिजनसँगै गर्मीले खेतबारीमै तरकारी सुक्न थालेपछि राजधानीमा हरियो सागपातको मूल्य आकासियो

– राजु चौधरी

 

काठमाडौं  – अफ सिजनसँगै गर्मीले खेतबारीमै तरकारी सुक्न थालेपछि राजधानीमा हरियो सागपातको मूल्य आकासिएको छ ।

स्थानीय उत्पादनसँगै राजधानीमा तराईका जिल्ला र भारतबाट तरकारी आउँछ । तर सुखा मौसमले स्थानीय उत्पादन कम हुनु र भारतबाट समेत आयात हुने हरियो तरकारीमा कमी भएपछि मूल्य बढेको व्यापारी बताउँछन् ।


एक साता अघिको तुलनामा राजधानीमा अधिकांश हरियो तरकारी आकासिएको छ । प्रतिकिलो २४ रुपैयाँको गोलभेडा अहिले ४० पुगेको छ । त्यसैगरी, बन्दा, गाजर, बोडी, लामो भेन्टा, मटरकोसा, तितेकरेला, लौका, परवर, घिरैला, हरियो फर्सी, भिन्डी, काक्रो, तामालगायतका तरकारको मूल्य आकासिएको कालिमाटी तथा फलफुल तरकारी बजार विकास समितिले जनाएको छ । प्रतिकिलो १८ रुपैयाँ पर्ने लामो भेन्टा ३२ पुगेको छ । ३३ रुपैयाँ पर्ने बोडी ६० पर्छ । ५४ रुपैयाँको ७० रुपैयाँ पुगे छ ।


सुख्खा मौसमले भारतीय तरकारीको मूल्य बढेकाले नेपाली व्यवसायीले आयत गर्न नसकेको समितिका बरिष्ठ बजार सञ्चालक अधिकृत मनोज धितालले बताए । ‘केही समय तरकारी अभावै रहने देखिएको छ,’ उनले भने ।


उनले कालिमाटीको आयातमै कमी आएको जानकारी दिए ।


उनका अनुसार दैनिक ७ सय टन तरकारी र फलफुल भित्रने कालीमाटीमा ५ सय ५० टनमा सिमित भएको छ ।


हाल कालिमाटी तरकारी बजारमा बारा, पर्सा, सर्लाही, महोत्तरी, नवलपरासी, धादिङ, काभ्रेर, मकवानपुर, चितवन, लगायत जिल्लाबाट तरकारी भित्रिन्छ ।