बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणमा

doncanकाठमाडौ –  बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार आइपुगेका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  रासससँग सङ्क्षिप्त कुरा गर्दै  उनले नेपालको गरिबी न्यूनीकरणमा आफ्नो मुलुकले गरेको सहयोगको समीक्षाका साथै भावी रणनीति तय गर्न  भ्रमण फलदायी हुने बताए ।


नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटेर राजनीतिक सहमतिमा पुग्न उनीहरूलाई अनुरोध गर्ने उल्लेख गर्दै उनले  विकास परियोजनामा सघाइरहेका बेलायती सङ्घसंस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।


बेलायतले जलवायु परिवर्तन, मानवअधिकार, विकास, रक्षा, द्वन्द्वपीडितलाई सहयोग, अभिव्यक्तिको स्वतन्त्रता, कानुनी सुधार, समावेशी संविधानका निम्ति सहयोगका साथै स्वास्थ्य, शिक्षा, दण्डहीनताको अन्त्यलगायत क्षेत्रमा आर्थिक एवम् प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।


सन् १८१६ मा नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक विकासमा उक्त मुलुकले उल्लेख्य सहयोग गर्दै आएको छ ।


बितेका  दुई वर्षमा राज्यमन्त्री डङ्कनको यो तेस्रो भ्रमण हो । उनलाई नेपालका लागि  बेलायती राजदूत जोन टकनट, यहाँस्थित बेलायती दूतावास र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।