काठमाडौं, २० असार – नेपाली सेनामा समायोजन रोजी शिविरमा बसेका माओवादी लडाकुको भर्ना तथा छनौट प्रक्रिया आजबाट सुरु हुने भएको छ ।
सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले सेना समायोजन विशेष समितिले तोकेको स्थानबाट भर्ना, छनौट प्रक्रियाअघि बढाइने जानकारी दिएका छन् । उक्त प्रक्रिया माओवादी लडाकुका सात मुख्य शिविरसँगै नेपाली सेनाको भरतपुरस्थित तालिम केन्द्रमा हुने बताइएको छ ।
विशेष समितिले यसअघि नै लडाकुको भर्ना छनौटका लागि लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा एक समिति गठन गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले विशेष समिति बैठक नै नराखी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
एमाओवादी उच्चस्रोतका अनुसार समायोजनका लागि भन्दा पनि विशेष समितिको पूर्वनिर्णमा टेकेर स्वेच्छिक अवकासमार्फत बाहिर निकाल्ने योजनाअनुसार प्रक्रियाअघि बढाइएको हो । समायोजनसम्बन्धमा शिक्षा, दर्जा, महानिर्देशनालय गठन, नागरिकता र अनमिनको प्रमाणिकरणका बेलाको उमेर, सेवाअवधिलगायतका विषयमा विवाद कायम नै छ ।
जेठ १४ मा संविधानसभा विघटनसँगै दलहरुबीच विवाद भइपछि विशेष समितिको बैठक पनि बसेको छैन । शिविरमा हाल समायोजन रोजेर बसेका ३ हजार १ सय २३ पूर्वलडाकु रहेका छन । उनीहरुलाई सीधै अवकासको विकल्पमा पठाउन सकिने अवर्था छैन ।
विशेष समितिको पछिल्लो निर्णअनुसार समायोजन प्रक्रियामा सहभागी भएर अयोग्य हुने, दर्जा, मापदण्डमा चित्त बुझेन भनेर बाहिरिनेले भने स्वेच्छिक अवकास वा पुनस्र्थापनाको विकल्प रोज्न सक्छन् । समायोजनबारे कांग्रेस(एमालेसंग सहमति नहुने देखेपछि एमाओवादी नेतृत्वको सरकारले प्रक्रियामा लगेर अवकासमार्फ् बाहिर निकाल्ने रणनीति लिएको हो ।