कांग्रेस-एमालेसहितका विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने

– कुलचन्द्र न्यौपाने, कान्तिपुर

 

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बिहान बोलाएको सर्वदलीय बैठक विपक्षी कांग्रेस/एमालेसहितका विपक्षी दलले बहिष्कार गर्ने भएका छन् । सरकारको हैसियतले बोलाएको कार्यक्रममा सहभागी नहुने भनी यसअघि नै भएको निर्णयका आधारमा विपक्षी दलहरूले प्रधानमन्त्रीले आयोजना गरेको बैठक बहिष्कार गर्ने निर्णय लिएका हुन् । तर, पार्टीबाट आयोजना भएको बैठकमा भने सहभागी हुने उनीहरूले जनाएका छन् ।

 

एमाले महासचिव ईश्वर पोखरेलले संवैधानिक, राजनीतिक र नैतिक हिसाबले समेत अनुपयुक्त पात्रहरूले बोलाएको बैठकमा सहभागी नहुने बताए । ‘राजनीतिक, संवैधानिक र नैतिक हिसाबले पनि प्रधानमन्त्रीले बोलाएको कार्यक्रममा हामी सहभागी हुँदैनौं’ पोखरेलले भने, ‘सहमति निर्माण गर्ने उद्देश्य हो भने सबैभन्दा पहिला उनले सत्ता छाडेर सहमतिका लागि आह्वान गर्नुपर्छ ।’

 

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुसँग आफ्नै दलले संवाद सुचारु गरिसकेको बताउँदै सरकारको हैसियतले बोलाएको बैठक बहिष्कार हुने बताए । ‘राजनीतिक दलहरुसँगको संवाद खुला गरेका छौं । सरकारमा रहेका राजनीतिक दलहरूले वार्ता या बैठकका लागि बोलाए जान्छौं, ‘सिटौलाले भने, ‘तर सरकारको हैसियतले बोलाइएका कुनै पनि बैठक हामी बष्हिकार गर्छौ ।’ सिटौलाले सरकार विरुद्ध रहेका सबै विपक्षी पार्टीहरूले बैठक बहिष्कार गर्ने बताए । कांग्रेस, एमालेसहित विपक्षी मोर्चामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, नेकपा (माले) सदभावना पार्टी आनन्ददेवीसहित २५ दल आबद्ध छन् ।